Oct 09 2026 | २०८३, आश्विन २३ गते

Oct 09 2026 | २०८३, आश्विन २३ गते

वीरगन्ज नाकाबाट १० महिनामा झण्डै आठ खर्बको आयात, पेट्रोलियम र फलामजन्य वस्तु अग्रस्थानमा

वीरगन्ज : वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पहिलो १० महिनामा रु सात खर्ब ९४ अर्ब ८७ करोड बराबरका वस्तु तथा सामान आयात भएको छ। यो परिमाण गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशतले बढी हो।

वीरगन्ज भन्सार कार्यालयका अनुसार गत आवको पहिलो १० महिनामा रु छ खर्ब ९२ अर्ब ४३ करोड मूल्यका वस्तु आयात भएको थियो। चालु आवमा भने आयात रकम रु एक खर्ब दुई अर्ब ४४ करोडले वृद्धि भएको छ।

भन्सार कार्यालयले विशेषगरी पेट्रोलियम पदार्थ तथा फलामजन्य वस्तुको आयातमा उल्लेखनीय वृद्धि भएको जनाएको छ।

तथ्यांकअनुसार चालु आवको १० महिनामा रु एक खर्ब ८१ अर्ब ७० करोड मूल्य बराबरका पाँच प्रकारका पेट्रोलियम पदार्थ आयात भएका छन्। त्यस्तै, रु ६९ अर्ब ४२ करोड मूल्यका फलाम तथा फलामजन्य सामग्री भित्रिएको छ।

यस अवधिमा रु ५७ अर्ब ६६ करोड बराबरका मेसिनरी तथा पार्टपुर्जा आयात भएका छन् भने रु ५५ अर्ब सात करोड मूल्य बराबरको भटमासको कच्चा तेल समेत आयात भएको भन्सार कार्यालयले जनाएको छ।

आयात वृद्धिसँगै वीरगन्ज नाका देशको प्रमुख व्यापारिक प्रवेशद्वारका रूपमा अझ सक्रिय बन्दै गएको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार