काठमाडौं । पहिले गाउँमा मोटरबाटो थिएन । बुटवलसम्म पुगेर ढाकरमा नुन–तेल ल्याउनुपर्थ्यो । घर–घर धारा थिएनन् । पँधेराको पानी बोकेर पिउनुपर्थ्यो । घाँस–दाउरा त दैनिकी नै भइहाल्यो ।
तर, अहिले समय बदलिएको छ । गाउँमा पक्की बाटो पुगेको छ । घरघरै खानेपानीको धारा छ । बिजुली पुगेसँगै इन्टरनेटको सुविधा छ । गाउँमै आधारभूत स्वास्थ्य सेवाको पहुँच छ । बिरामी पर्दा अस्पताल जान गाउँमै एम्बुलेन्स पुग्न सक्छन् । लामो समयसम्म विकास पुग्न नसकेका गाउँमा अहिले शहरकै सुविधाको झल्को पाइन्छ ।
युवादेखि वृद्धका हातमा स्मार्ट फोन छ । विदेश र शहर गएका घरपरिवार तथा नातागोतासँग घरमै बसेर भिडियो कल पाइएको छ ।
तर, यति धेरै विकास र सुविधा हुँदा पनि अर्घाखाँचीका गाउँहरू दिन प्रतिदिन रित्तिँदै छन् । तीव्र बसाइँसराइले अर्घाखाँचीका खेतीयोग्य जमिन बाँझो हुने क्रम बढ्दो छ ।
पछिल्लो दशकमा यहाँको ७ हजार ३६२ हेक्टर खेतीयोग्य जमिन बाँझिएको तथ्यांकले देखाएको छ । कृषि विकास कार्यालयका अनुसार अर्घाखाँचीमा ३० वर्षअघि ४५ हजार ७१२ हेक्टर क्षेत्रफलमा खेती हुन्थ्यो । २०७० सम्म आइपुग्दा त्यो क्षेत्रफल २८ हजार ६०९ हेक्टरमा झर्यो । अहिले जम्मा २१ हजार २४७ हेक्टरमा मात्र खेती भइरहेको छ ।
शीतगंगा नगरपालिका–११ छापमा केही वर्ष अघिसम्म ४५ घरपरिवार बसोबास गर्थे । अहिले सबै घर खाली छन् । ५० घर रहेको दुम्सी गाउँ पनि रित्तिएको छ । सिंगो गाउँ नै तराई झरेपछि खेतबारी बाँझिएका छन् ।
शीतगंगा–१० सिद्धाराका माधवप्रसाद पौडेल भन्छन्, ‘गाउँ नै रित्तो बनाएर धेरै परिवार कपिलवस्तुको लुंग्री, मौवाबारी, खयरभट्टी र ढोडेनीतिर बसाइँ सरे ।’ सिद्धाराकै झाते, पात्ले र उनाए गाउँ पनि विस्तारै खाली हुँदै गएका छन् । जंगली जनावरबाट खेती जोगाउनै नसकेर पनि गाउँबाट बसाइँ सरेका छन् ।
सन्धिखर्क नगरपालिका–९ गौचौरमा पाँच घरपरिवार बसोबास गर्थे । अहिले गाउँ खाली भएको छ । सन्धिखर्क–९ कै घर्तीखोर, दीप, ओढारपानी, बढाचौर, कुँडापानी लगायतका गाउँमा वर्षेनी बसाइँ सर्नेहरू बढ्दा घर खाली हुँदै गएका छन् ।
अर्घा रजस्थल माविका शिक्षक छविलाल चुँदालीका अनुसार, गाउँबाट बसाइँसराइ गरेर जाने क्रम बढेपछि विद्यार्थीको संख्या घटेको छ । ५५० विद्यार्थी पढ्ने अर्घा रजस्थल माविमा अहिले घटेर २०० विद्यार्थी छन्।

पहिले टारी र बगरमा खेत बनाएर धान र गहुँ लगाइन्थ्यो । खेत बाँझै राख्नु हुँदैन भन्ने सोच थियो । अहिले नयाँ खेत बनाउने क्रम रोकिएको छ । पहिले खेती भइरहेका जमिनमा पनि खर र बनमारा उम्रिएको छ ।
नेपाल सरकारको व्यक्तिगत घटना दर्ता तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा अर्घाखाँचीबाट ५ हजार ८२ घरपरिवार बसाइँ सरेका छन् । औसत पाँच जनाको दरले हिसाब गर्दा झण्डै २५ हजार मानिसले जिल्ला छाडेका छन् ।
जनसंख्याको यो घट्दो प्रवृत्ति जनगणनामा पनि देखिन्छ । २०६८ को राष्ट्रिय जनगणनामा १ लाख ९७ हजार ६३२ जनसंख्या रहेको अर्घाखाँची २०७८ मा १ लाख ७७ हजार ८६ मा झ¥यो । १० वर्षमा २० हजारभन्दा बढी जनसंख्या घट्नु सामान्य होइन ।
बसाइँसराइ अर्घाखाँचीका ६ वटै पालिकाबाट भइरहेको छ । शिक्षा, रोजगारी, सहज जीवनशैली र समथर जमिनको आकर्षणले तराईतिरको यात्रा बढ्दो छ ।
कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेका अनुसार अहिले नयाँ प्रविधि, हाइब्रिड बिउ र रासायनिक मलको प्रयोगले उत्पादनमा कमी आएको छैन । तर जमिन नै बाँझिँदै गएकाले भविष्यमा खाद्य संकटको जोखिम बढेको छ । उनका अनुसार उत्पादन बढे पनि खेती हुने क्षेत्रफल घट्दै जानु दीर्घकालीन रूपमा खतरनाक संकेत हो ।
हरेक निर्वाचनमा राजनीतिक दलहरूले बसाइँसराइ रोक्ने, युवालाई गाउँमै स्वरोजगार बनाउने र उद्यमशिलता विकास गर्ने कार्यक्रम ल्याउने वाचा गर्छन् । तर चुनावपछि ती प्रतिबद्धता कार्यान्वयन हुँदैनन् ।
पूर्वउपसभामुख पुष्पा भुसाल भन्छिन्, ‘विकासको प्रतिफल नागरिकको अपेक्षाअनुसार नपुगेकोले बसाइँसराइ बढेको छ । विकाससँगै रोजगारी र उद्यमशिलता बढाउन सके मात्र पलायन रोकिन्छ ।’ उनको भनाइमा सडक र भवन निर्माण मात्र विकास होइन, स्थायी आयआर्जनको अवसर सिर्जना गर्नु नै मुख्य हो ।
सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ शिक्षा, स्वास्थ्य र रोजगारीको खोजीमा बसाइँसराइ भएको बताउँछन् । उनी भन्छन्, ‘उद्यमशिलता बढाउने कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ ।’
अर्घाखाँचीमा धार्मिक तथा प्राकृतिक पर्यटनको ठूलो सम्भावना छ । सुपा देउराली, अर्घाभगवती, पाणिनी तपोभूमि, खाँचीकोट भगवती, नर्सिंह स्थान र सिद्धेश्वर शिवालय जस्ता स्थललाई एकीकृत रूपमा विकास गर्न सके स्थानीय रोजगारी सिर्जना हुन सक्ने र बसाइँसराइ रोकिने नगर प्रमुख श्रेष्ठको भनाइ छ ।
पर्यटनसँगै कृषि–आधारित उद्यम, अर्गानिक उत्पादन, प्रशोधन उद्योग, एग्रो–टुरिजम जस्ता कार्यक्रमले युवालाई गाउँमै आकर्षित गर्न सक्छ ।
अर्घाखाँची अहिले परिवर्तनको दोबाटोमा छ । विकासका पूर्वाधार पुगे पनि जनशक्ति बाहिरिँदा गाउँ रित्तिँदै छन् । खेतबारी बाँझिँदै जाँदा उत्पादन प्रणाली कमजोर बन्दैछ ।
बसाइँसराइको मूल कारण रोजगारी अभाव, कृषिको जोखिम, बजार अस्थिरता र सामाजिक सेवा गुणस्तरलाई सम्बोधन गर्न सकिएन भने बाँझो जमिनको क्षेत्र अझ बढ्न सक्ने समाचार प्रेमनारायण आचार्यले अनलाइन खबरमा लेखेका छन् ।
अध्यक्ष/सम्पादक
हेमन क्षेत्री
प्रबन्ध निर्देशक
गणेश के.सी.
९७४३२५१५४२
प्रमुख कार्यकारी अधिकृत
मेहर सिंह के.सी.
९८५७०६१४१६
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
संवाददाता
बिनोद थापा
डब्लु बम रावल (९८४९९१६७०८)
जनसम्पर्क अधिकृत
अस्मिता भुसाल (९७६७६३३८१५)
क्यामेरा पर्शन
शिशिर कार्की (9813901361)
व्यवस्थापक
आविष्कार खत्री
लुम्बिनी व्युरो
अनिल कुमार चौधरी (९८६७४४७१०६)
आइटी शाखा
रमेश ज्ञवाली
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
लुम्बिनी गणेश मिडिया प्रा.लि.
का.म.पा.–२९, मैतिदेबी, काठमाडौं ।
फोन : 984-3497533
ईमेल : thelumbini2080@gmail.com
सूचना विभाग द.प्र.प.नं. : ४९६६–०८१/०८२
दर्ता मिति : २०८१/१२/११
प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ४९७३–०८१/०८२
दर्ता मिति : २०८२/०२/०४
about-us
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij