Oct 09 2026 | २०८३, आश्विन २३ गते

Oct 09 2026 | २०८३, आश्विन २३ गते

५०० दरका ३० लाख नयाँ नोट चलनचल्तीमा, गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि ५०० रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ। नयाँ नोटमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ भने यसको आकार र रङ साविककै कायम राखिएको छ।

राष्ट्र बैंकका अनुसार संकेत नम्बर झ३८ ०००००१ देखि ट८३ ९९९९९९ सम्मका नयाँ नोट बजारमा प्रवाह गरिएको हो। नेपाली नोटको नम्बरिङ प्रणालीअनुसार झ, ञ र ट संकेतअन्तर्गत छापिएका यी नोटहरूको कुल संख्या करिब ३० लाख थान रहेको बैंकले जनाएको छ।

यसअघि राष्ट्र बैंकले २०७८ पुस ९ गतेदेखि २०२० सिरिजका ५०० रुपैयाँ दरका २ लाख ४८ हजार थान नोट चलनचल्तीमा ल्याएको थियो।

यस्ता छन् नयाँ नोटका विशेषता

नयाँ नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानीछाप राखिएको छ। नोटको तल्लो भागमा ‘सिरिज नम्बर २०८२’ उल्लेख गरिएको छ।

दृष्टिविहीन तथा फरक क्षमता भएका व्यक्तिहरूले स्पर्शबाट नोटको दर पहिचान गर्न सकून् भन्ने उद्देश्यले पानीछापको बायाँतर्फ दुईवटा कालो थोप्ला राखिएको छ।

सगरमाथाको चित्रको दायाँपट्टि रहेको अण्डाकार आकृतिभित्र कुबेरको चित्र समावेश गरिएको छ, जसलाई सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो रङमा देख्न सकिन्छ।

नोटमा ३.५ मिलिमिटर चौडाइको सुरक्षण धागो प्रयोग गरिएको छ, जसले सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङ देखाउँछ।

नोटको पृष्ठभागको मध्य भागमा पाटेबाघको चित्र राखिएको छ भने त्यसको माथि ‘NEPAL RASTRA BANK’ लेखिएको छ। तल्लो भागमा ‘RUPEES FIVE HUNDRED’ र ‘Series No. 2025 AD’ उल्लेख गरिएको छ।

राष्ट्र बैंकका अनुसार नयाँ नोटमा आधुनिक सुरक्षण विशेषताहरू समावेश गरिएकाले यसले नोटको विश्वसनीयता र सुरक्षा थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार