Oct 08 2026 | २०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

पर्यटन प्रवर्द्धनका लागि मसुरपाटामा सन्धिखर्क नगरसभा, आगामी वर्षको नीति तथा बजेट पारित

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले धार्मिक तथा पर्यटकीय सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यसहित यस वर्षको नगरसभा सदरमुकाम बाहिर आयोजना गरेको छ। सन्धिखर्क–९ स्थित पर्यटकीय क्षेत्र मसुरपाटामा सम्पन्न नगरसभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम, बजेट, विनियोजन विधेयक तथा आर्थिक विधेयक पारित गरेको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालका अनुसार नगरसभा मसुरपाटामा आयोजना गर्नुको उद्देश्य यस क्षेत्रसँगै धार्मिक आस्थाको केन्द्र अर्घा भगवती मन्दिर र ऐतिहासिक अर्घा दरबारको प्रचारप्रसार गर्दै आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नु हो।

नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले प्राकृतिक सौन्दर्य, धार्मिक महत्त्व र ऐतिहासिक सम्पदाले सम्पन्न मसुरपाटा क्षेत्रलाई नगरको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यका साथ नगरसभा यहाँ आयोजना गरिएको बताए। अर्घा भगवती माताको आशीर्वाद लिएर सुरु गरिएको अधिवेशनले विकास र पर्यटनलाई सँगसँगै अघि बढाउने सन्देश दिएको उनको भनाइ छ।

नगरसभाले आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि, सडक तथा पूर्वाधार विकास, खानेपानी, रोजगार, वातावरण संरक्षण, पर्यटन प्रवर्द्धन, सुशासन तथा सामाजिक विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम पारित गरेको छ। ती कार्यक्रम कार्यान्वयनका लागि आवश्यक बजेट, विनियोजन विधेयक र आर्थिक विधेयक पनि स्वीकृत गरिएको प्रमुख प्रशासकीय अधिकृत खनालले जानकारी दिए।

नगर उपप्रमुख मिश्रा आचार्यका अनुसार मसुरपाटा, अर्घा भगवती मन्दिर र अर्घा दरबार अर्घाखाँचीका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले महत्वपूर्ण सम्पदा हुन्। आगामी वर्षको योजनामा यी सम्पदाको संरक्षण, विकास र प्रचारप्रसारलाई प्राथमिकतामा राखिएको छ।

नगरपालिकाका जनप्रतिनिधिहरूले पर्यटकीय क्षेत्रमै नगरसभा आयोजना गर्दा स्थानीय पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्। स्थानीयवासीले पनि मसुरपाटाबाट सम्पन्न नगरसभाले सन्धिखर्कको विकाससँगै धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदालाई राष्ट्रियस्तरमा चिनाउने नयाँ सन्देश दिएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार