Oct 09 2026 | २०८३, आश्विन २३ गते

Oct 09 2026 | २०८३, आश्विन २३ गते

चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडभन्दा बढी बजेट स्वीकृत

काठमाडौं: चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको २७औँ बैठकले उक्त बजेट पारित गरेको हो। स्वीकृत बजेटमध्ये नेपाल सरकारबाट पाँच अर्ब ९९ करोड २१ लाख रुपैयाँ विनियोजन गरिएको छ भने आयोगको आन्तरिक स्रोतबाट ५६ करोड चार लाख ९८ हजार रुपैयाँ व्यवस्थापन गरिनेछ।

बैठकले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म आयोगको आन्तरिक स्रोतमा रहेको ९९ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँ बचत तथा चालु आर्थिक वर्षमा विभिन्न आन्तरिक स्रोतबाट प्राप्त हुने अनुमानित ३५ करोड रुपैयाँ गरी कुल एक अर्ब ३४ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँमध्ये चालु आवमा ५६ करोड चार लाख ९८ हजार रुपैयाँ खर्च गर्ने निर्णय पनि गरेको छ।

आयोगका अनुसार आन्तरिक स्रोतबाट विनियोजित रकममध्ये ४७ करोड ४२ लाख ९८ हजार रुपैयाँ चालु खर्चका लागि तथा आठ करोड ६२ लाख रुपैयाँ पुँजीगत खर्चका लागि छुट्याइएको छ।

बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, आयोगका उपाध्यक्ष प्रा. डा. देवेन्द्रबहादुर खत्री, सदस्य–सचिव एवं सहसचिव बसन्तप्रसाद कोइरालालगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार