Oct 09 2026 | २०८३, आश्विन २३ गते

Oct 09 2026 | २०८३, आश्विन २३ गते

सरकारले लगानी बढाएर सक्षम नेतृत्वलाई जिम्मेवारी दिने हो भने उदयपुर सिमेन्ट उद्योगले तीन वर्षदेखि प्रतिफल दिन्छ : पूर्वमहाप्रबन्धक गोपीकृष्ण न्यौपाने

उद्योग बन्द गराउने होइन, उद्योग कसरी चलाउने र यसको दायित्व कसरी फरफारक गर्ने भन्ने विषयमा सोच्नुपर्छ

उदयपुर । उदयपुर सिमेन्ट उद्योगको उत्पादन पुनः नियमित हुन थालेसँगै उद्योगको दीर्घकालीन सुधार, क्षमता विस्तार र सरकारी स्वामित्वको संरक्षणबारे बहस सुरु भएको छ। उद्योगका पूर्वमहाप्रबन्धक तथा उदयपुर सिमेन्ट उद्योगको विषयमा पीएचडी अनुसन्धान गरिरहेका गोपीकृष्ण न्यौपानेले उद्योगलाई बन्द गर्नेभन्दा आवश्यक लगानी र व्यवस्थापकीय सुधारमार्फत सञ्चालन गर्नुपर्ने बताएका छन्।

न्यौपानेले उदयपुर सिमेन्टको ‘गैंडा छाप’ सिमेन्टको प्याकिङ सुरु हुनु सकारात्मक संकेत भएको उल्लेख गर्दै आगामी दिनमा क्लिंकर उत्पादनसमेत नियमित हुने अपेक्षा व्यक्त गरेका छन्।

उनले गैंडा छाप सिमेन्टको गुणस्तरको प्रमुख आधार उदयपुरको चुनढुंगाको गुणस्तर भएको दाबी गरेका छन्। चुनढुंगामा म्याग्नेसियम अक्साइड (MgO) १.५ प्रतिशतभन्दा कम र क्याल्सियम अक्साइड (CaO) ५२ प्रतिशतभन्दा बढी रहेको उल्लेख गर्दै उनले यस्तो गुणस्तरको चुनढुंगा अन्य नेपाली खानीमा दुर्लभ रहेको उनको जिकिर छ ।

‘सरकारी उद्योगको उत्पादन प्रयोग गरौं’

न्यौपानेले घर निर्माणमा प्रयोग हुने सिमेन्टको गुणस्तरमा ध्यान दिन आग्रह गर्दै सरकारी उद्योगको उत्पादनलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन्। उनले त्रियुगा नगरपालिकाका योजनामा गैंडा छाप सिमेन्ट प्रयोग गर्न पहल गर्न नगरप्रमुखसँग समेत आग्रह गरेका छन्।

उनले सरकार उदयपुर सिमेन्ट उद्योगको प्रमुख शेयरधनी भएकाले थप लगानी गरी उद्योगको क्षमता विस्तार गर्नुपर्ने बताएका छन्। सुकौरामा नयाँ क्लिंकर उद्योग स्थापना, उत्पादन लागत नियन्त्रण र बजारमा मूल्य सन्तुलन कायम गर्न उदयपुर सिमेन्टलाई सञ्चालनमा राख्नु आवश्यक रहेको उनको तर्क छ।

न्यौपानेले आवश्यक परे सरकारले प्रतिकिलो वा प्रतिबोरा अनुदान दिएर भए पनि उद्योग सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन्।

जापानी सहयोग पुनः जुटाउन आग्रह

उदयपुर सिमेन्ट उद्योग स्थापना तथा विकासमा जापानी सहयोगको पृष्ठभूमि उल्लेख गर्दै न्यौपानेले उद्योगका पुराना मेसिन तथा उपकरणको नियमित मर्मतसम्भार आवश्यक रहेको बताएका छन्।

उनका अनुसार उद्योगमा Kawasaki, Mitsubishi र Simon लगायत जापानी कम्पनीका उपकरण छन्। लामो समयदेखि आवश्यक मर्मतसम्भार हुन नसक्दा अहिले उद्योगले ठूलो पूँजीगत लगानी खोजिरहेको उनको भनाइ छ।

न्यौपानेले जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग (JICA) सँग उद्योग पुनर्संरचनाका लागि सहयोगबारे आफूले पहल गरेको र अर्थ मन्त्रालयमार्फत औपचारिक अनुरोध आए सहयोग गर्न सकिने आश्वासन पाएको दाबी गरेका छन्। उनले अहिले पनि नेपाल सरकारले JICA लगायत जापानी सरकारी निकायसँग आवश्यक पहल गर्नुपर्ने बताएका छन्।

उनको दाबीअनुसार उद्योगमा क्षमता विस्तार र पूँजीगत मर्मतसम्भार गरी उत्पादन नियमित गर्न सके तीन वर्षभित्र लगानी फिर्ता गर्न सकिने अवस्था बन्न सक्छ।

उत्पादन लागत घटाएर क्षमता बढाउनुपर्ने

न्यौपानेले उदयपुर सिमेन्टको उत्पादन लागत घटाउन र पटक–पटक हुने ब्रेकडाउन रोक्न प्राविधिक तथा व्यवस्थापकीय सुधार एकैसाथ अघि बढाउनुपर्ने बताएका छन्।

उनले खानीको ब्लास्टिङ प्रणाली परिवर्तन, रोपवेको मर्मत तथा बकेट संख्या वृद्धि, स्ट्राइकर/रिक्लाइमर, ग्यास एनालाइजर, ब्लोअरलगायत उपकरणको मर्मत तथा प्रतिस्थापन गर्नुपर्ने सुझाव दिएका छन्।

त्यस्तै, क्लिन सेलको मर्मत, बर्नरको सुधार, क्याल्सिनाइजर प्रविधि जडान तथा हालको SP प्रणालीलाई RSP प्रणालीमा स्तरोन्नति गर्नुपर्ने उनको सुझाव छ।

उत्पादन प्रणालीको आधुनिकीकरणसँगै धुलो सिमेन्ट मिक्स्चरमा प्याकिङ गर्ने व्यवस्था मिलाउनुपर्ने र बजारमा सिमेन्ट बिक्री कमजोर भए क्लिंकरसमेत बिक्री गर्न सकिने व्यवस्था कार्यान्वयन गर्नुपर्ने उनले बताएका छन्।

दैनिक क्लिंकर उत्पादन ८ सयबाट ११ सय टन पुर्‍याउने प्रस्ताव

न्यौपानेले हाल करिब ८ सय टन रहेको दैनिक क्लिंकर उत्पादन क्षमता तत्काल १ हजार १ सय टनसम्म पुर्‍याउने लक्ष्य राख्नुपर्ने बताएका छन्।

उनका अनुसार कच्चा पदार्थको मिश्रण, तापक्रम व्यवस्थापन, जिप्समको मात्रा, उपकरणको ऊर्जा खपत र नियमित मर्मतसम्भारमा सुधार गर्न सके उत्पादन लागत उल्लेख्य रूपमा घटाउन सकिन्छ।

ठूला मोटरको ऊर्जा अडिट गरी कम विद्युत् खपत गर्ने प्रविधि भित्र्याउनुपर्ने, विद्युत् प्रसारणको समस्या समाधान गर्न लहानबाट जलजलेसम्म ३३ केभी प्रसारण लाइन विस्तार गर्नुपर्ने तथा लिकेज नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ।

त्यसैगरी १० मेगावाट क्षमताको सौर्य ऊर्जा प्रणाली स्थापना गरी अतिरिक्त विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गर्न सकिने प्रस्तावसमेत उनले अघि सारेका छन्।

‘उद्योग चलाउन इमानदार र सक्षम नेतृत्व आवश्यक’

न्यौपानेले उद्योगको समस्या केवल मेसिन र लगानीको नभई व्यवस्थापन, प्राविधिक निर्णय र कर्मचारीको कार्यशैलीसँग पनि जोडिएको बताएका छन्।

उनले जापानी प्राविधिक मापदण्ड पूर्ण रूपमा पालना गर्नुपर्ने, कच्चा पदार्थको मिश्रण तथा उत्पादन प्रक्रियामा बिना निर्णय स्पेसिफिकेसन परिवर्तन गर्न नहुने र प्रयोगशालाबाट हुने परीक्षण तथा उत्पादन प्रक्रियामा पारदर्शिता कायम गर्नुपर्नेमा जोड दिएका छन्।

उनका अनुसार उद्योगमा सक्षम नेतृत्व आएपछि त्यसलाई निरन्तरता दिनुपर्ने र प्राविधिक रूपमा सुधारका योजना अघि बढाउने नेतृत्वलाई अनावश्यक रूपमा हटाउने प्रवृत्ति अन्त्य हुनुपर्छ।

‘उद्योग बन्द होइन, दायित्व तिर्न सक्ने बनाऔं’

पूर्वमहाप्रबन्धक न्यौपानेले उदयपुर सिमेन्टलाई सरकारी उद्योग भएकाले सरकारले सधैं आर्थिक भार व्यहोर्ने संस्थाका रूपमा हेर्न नहुने बताएका छन्।

उनको धारणा छ—सरकारले आवश्यक लगानी, सक्षम नेतृत्व र उचित व्यवस्थापन सुनिश्चित गरे उद्योगलाई नियमित रूपमा सञ्चालन गरी आफ्नै दायित्व तिर्न सक्ने अवस्थामा पुर्‍याउन सकिन्छ।

उनले उद्योग बन्द भएपछि कर्मचारीको अन्यत्र सरुवा हुने वा सरकारले सुविधा दिइहाल्ने मानसिकताभन्दा उद्योगलाई कसरी दीर्घकालीन रूपमा सञ्चालन गर्ने भन्ने विषयमा सबै पक्ष केन्द्रित हुनुपर्ने बताएका छन्।

“उद्योग बन्द गराउने होइन, उद्योग कसरी चलाउने र यसको दायित्व कसरी फरफारक गर्ने भन्ने विषयमा सोच्नुपर्छ,” भन्दै उनले विशेषगरी उद्योगमा नवनियुक्त इन्जिनियर तथा प्राविधिक जनशक्तिलाई जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरेका छन्।

न्यौपानेले उदयपुर सिमेन्ट उद्योगसम्बन्धी आफ्नो अध्ययन तथा पीएचडी अनुसन्धानबाट प्राप्त निष्कर्षका रूपमा यी सुझावहरू सार्वजनिक गरेको बताएका छन्। यद्यपि, चुनढुंगाको रासायनिक संरचना, उपकरणको अवस्था, लगानीबाट तीन वर्षमा प्रतिफल प्राप्त हुने सम्भावना तथा अन्य प्राविधिक दाबीहरू सम्बन्धित प्राविधिक परीक्षण र आधिकारिक प्रतिवेदनबाट थप पुष्टि हुनुपर्ने विषय हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार