Oct 08 2026 | २०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

डोल्पाको सडक ठेक्कामा भ्रष्टाचार आरोप, तत्कालीन निमित्त प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध मुद्दा

काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा सडक ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित आठ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०७८/७९ मा त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित हरियापानी–पालङ्ग–माझफाल हुँदै रुकुमसम्म सडक निर्माणका लागि भएको ठेक्का प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा नियमावलीविपरीत कार्य गरेको आरोपमा मुद्दा दायर गरिएको हो।

आयोगका अनुसार कम रकम कबोल गर्ने बोलपत्रदातालाई अयोग्य ठहर गरी बढी रकम कबोल गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृत गरेर ठेक्का प्रदान गरिएको थियो। यसबाट सरकारी रकममा नोक्सानी पुगेको दाबी गर्दै आयोगले संलग्न व्यक्तिहरूमाथि भ्रष्टाचारको आरोप लगाएको छ।

मुद्दा दायर हुनेमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल, प्रशासकीय अधिकृत हिराचन्द्र धराला, वरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा, शिक्षा अधिकृत भीमबहादुर थापा र एमआईएस अपरेटर शरिचन्द्र विष्ट रहेका छन्।

त्यस्तै, सडक निर्माणको खरिद प्रक्रिया तथा मूल्याङ्कनमा संलग्न बोलपत्र मूल्याङ्कन समितिका सदस्य शिशिरकुमार गुरुङ, छल निर्माण सेवा प्रालि, दुनै, डोल्पा तथा उक्त निर्माण सेवाका प्रोप्राइटर दीपचन्द रोकायाविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

आयोगका अनुसार उनीहरूले खरिद प्रक्रियामा तोकिएको कानुनी व्यवस्था पालना नगरी बढी रकम कबोल गर्ने बोलपत्रदातालाई ठेक्का प्रदान गरेको आरोप छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम आठै जनाविरुद्ध ७३ लाख ६१ हजार ९५३ रुपैयाँ बिगो कायम गरी सोहीअनुसार सजाय तथा बिगो असुलउपरको मागदाबी गरिएको छ।

आयोगले मंगलबार विशेष अदालत, काठमाडौंमा उनीहरूविरुद्ध आरोपपत्र दायर गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार