काठमाडौँ । बेलायतको आरएएफ फेयरफोर्ड सैन्य आधार शिविरनजिकै सन्दिग्ध सुरक्षा घटना भएपछि संयुक्त राज्य अमेरिकाले त्यहाँ तैनाथ आफ्ना सबै बमवर्षक विमान फिर्ता बोलाएको छ।
अमेरिकी रक्षा अधिकारीका अनुसार फेयरफोर्डमा तैनाथ सबै बमवर्षक विमानलाई अमेरिकास्थित नियमित सैन्य स्टेसनमा फिर्ता लगिएको हो। आइतबार रकवेल बी–१ लान्सर हेभी बमवर्षक विमानहरू अमेरिकातर्फ उडेका थिए।
अमेरिकाले विमान फिर्ता गर्नुको आधिकारिक कारण भने सार्वजनिक गरेको छैन। तर, गत सेप्टेम्बर २७ मा ग्लोस्टरशायरस्थित फेयरफोर्ड एयरबेसनजिकै तीनवटा ‘सन्दिग्ध सवारीसाधन’ भेटिएपछि सुरक्षा अनुसन्धान जारी रहेका बेला अमेरिकी सेनाले यस्तो निर्णय गरेको हो।
बेलायती प्रशासनिक स्रोतहरूले समेत अमेरिकी निर्णय फेयरफोर्डमा भएको घटनासँग सम्बन्धित हुन सक्ने संकेत गरेका छन्। बीबीसीका अनुसार यो राजनीतिक निर्णय नभई अमेरिकी सेनाले सञ्चालनगत तहमा गरेको सैन्य निर्णय हो र यसबारे बेलायती सेनालाई जानकारी गराइएको थियो।
बेलायतको रक्षा मन्त्रालयले भने अमेरिकी बमवर्षक फिर्तासम्बन्धी विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ।
सेप्टेम्बर २७ को बिहान अमेरिकी वायुसेनाले सञ्चालन गर्दै आएको फेयरफोर्ड एयरबेसतर्फ सन्दिग्ध रूपमा अघि बढिरहेका सवारीसाधनबाट २३ देखि २५ वर्ष उमेर समूहका पाँच जना बेलायती नागरिक पक्राउ परेका थिए।
उनीहरूलाई सुरुमा विस्फोटक पदार्थसँग सम्बन्धित आशंकामा पक्राउ गरिएको थियो। पछि आतङ्कवादी गतिविधिको तयारी गरेको आशंकामा अनुसन्धान अघि बढाइएको थियो।
प्रहरीले अनुसन्धानकै क्रममा उनीहरूलाई धरौटीमा रिहा गरेको जनाएको छ।
यसैबीच, लन्डनबाट पक्राउ परेका २५ वर्षीय बेलायती–इरानी नागरिक छैटौँ व्यक्तिलाई पनि शनिबार धरौटीमा रिहा गरिएको काउन्टर टेरर प्रहरीले पुष्टि गरेको छ।
घटनापछि बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले यसमा इरानको संलग्नताको ‘बलियो संकेत’ प्राप्त भएको बताएका थिए। यद्यपि, उनले त्यसको आधार वा थप विवरण सार्वजनिक गरेका छैनन्।
इरानले भने घटनामा आफ्नो कुनै संलग्नता नरहेको भन्दै आरोपको कडा खण्डन गरेको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि फक्स न्युजसँगको कुराकानीमा घटनामा स्पष्ट रूपमा ‘विदेशी पक्ष’ संलग्न रहेको दाबी गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पक्राउ परेका पाँचै जनालाई धरौटीमा रिहा गरिएकोमा आश्चर्य व्यक्त गरेका छन्। उनले अमेरिकी पक्षसँग उनीहरूबारे पर्याप्त जानकारी रहेको दाबी गर्दै आफूहरूको अधिकार क्षेत्र भएको भए उनीहरूलाई रिहा नगर्ने बताएका छन्।
यद्यपि, बेलायतले यस विषयमा अमेरिकासँग निकै नजिक भएर काम गरिरहेको ट्रम्पको भनाइ छ।
अमेरिकी वायुसेनाले दशकौँदेखि आरएएफ फेयरफोर्डलाई ‘फर्वार्ड अपरेटिङ बेस’ का रूपमा प्रयोग गर्दै आएको छ।
बेलायतले इरानविरुद्धको रक्षात्मक कारबाहीका लागि उक्त आधार शिविर प्रयोग गर्न अनुमति दिएपछि पछिल्ला महिनामा अमेरिकी बमवर्षक विमानहरूले फेयरफोर्डबाट मध्यपूर्वतर्फ उडान भर्दै आएका थिए।
यसअघि गत जुलाईमा इरानले आफ्नो भूमिमाथि आक्रमणका लागि प्रयोग हुने कुनै पनि सैन्य आधार आफ्नो सेनाको वैध निशाना बन्न सक्ने चेतावनी दिएको थियो।
फेयरफोर्डबाट अमेरिकी बमवर्षक फिर्ता गराउने निर्णयले उक्त सैन्य आधारको सुरक्षा अवस्था तथा मध्यपूर्वमा अमेरिकी सैन्य गतिविधिबारे नयाँ चासो उत्पन्न गरेको छ।
अध्यक्ष/सम्पादक
हेमन क्षेत्री
प्रबन्ध निर्देशक
गणेश के.सी.
९७४३२५१५४२
प्रमुख कार्यकारी अधिकृत
मेहर सिंह के.सी.
९८५७०६१४१६
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
संवाददाता
बिनोद थापा
डब्लु बम रावल (९८४९९१६७०८)
जनसम्पर्क अधिकृत
अस्मिता भुसाल (९७६७६३३८१५)
क्यामेरा पर्शन
शिशिर कार्की (9813901361)
व्यवस्थापक
आविष्कार खत्री
लुम्बिनी व्युरो
अनिल कुमार चौधरी (९८६७४४७१०६)
आइटी शाखा
रमेश ज्ञवाली
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
लुम्बिनी गणेश मिडिया प्रा.लि.
का.म.पा.–२९, मैतिदेबी, काठमाडौं ।
फोन : 984-3497533
ईमेल : thelumbini2080@gmail.com
सूचना विभाग द.प्र.प.नं. : ४९६६–०८१/०८२
दर्ता मिति : २०८१/१२/११
प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ४९७३–०८१/०८२
दर्ता मिति : २०८२/०२/०४
about-us
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij