Oct 09 2026 | २०८३, आश्विन २३ गते

Oct 09 2026 | २०८३, आश्विन २३ गते

कांग्रेसको १५औँ महाधिवेशन : आज नयाँ नेतृत्वका लागि मतदान हुँदै

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। मतदान बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने निर्वाचन समितिले जनाएको छ।

यसअघि बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो। तर भारी वर्षा तथा केही प्राविधिक कारणले मतदानको समय तीन घण्टा पछि सारिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन्। सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ।

केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार मतदानका लागि प्रतिनिधिको प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ।

कुन प्रदेशका प्रतिनिधिले कहाँ मतदान गर्ने ?

  • राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’ — बागमती प्रदेश
  • खुलामञ्च, मतदान केन्द्र ‘ख’ — कोशी प्रदेश तथा तराई–मधेश समूह
  • हिमाल हल — गण्डकी प्रदेश
  • तराई–मधेश हल — मधेश प्रदेश
  • पहाड हल — लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधि

निर्वाचन समितिले प्रतिनिधिहरूलाई मतदानस्थलमा प्रवेश गरेपछि आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ। मतदानअघि प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ।

निर्वाचन आचारसंहिताअनुसार मतदानस्थलमा मोबाइल फोनलगायत निषेध गरिएका सामग्री लिएर प्रवेश गर्न पाइने छैन। प्रतिनिधिले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेपछि मात्र मतदान गर्न पाउनेछन्।

मतदानपछि मतगणना

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध र उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेको छ। त्यसपछि निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको हो।

आज हुने मतदानबाट कांग्रेसको नयाँ सभापतिसहित उपसभापति, महामन्त्री, सहमहामन्त्री र विभिन्न पदका केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ। मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार