सामाजिक सञ्जाल टिकटकमा जेन जी पुस्ताको नेपो बेबिज नामको अभियान भाइरल भइरहेको छ। भ्रष्ट नेता र आम नेपाली जनताका छोराछोरीको जीवनशैलीमा रहेको विभेदको तुलना गरेर आन्दोलित हुन अपिल गरिएको छ। अपिलमा २३ भदौ सोमबार बिहान माइतीघरमा हजारौं विध्यार्थीहरूलाई विद्यालय पोशाक र परिचयपत्र सहित उपस्थित हुन भनिएको छ।
यो अभियानकर्ताहरुले नेताहरू कुनै काम गर्दैनन्, कुनै वैध आय स्रोत देखिँदैन तर बिना आयस्रोत पनि उनीहरूका छोराछोरी बिलासी जीवन बिताइरहेका छन् भन्ने सन्देश प्रवाह गर्न भिडियोसहितका विभिन्न रचनात्मक सामग्री तयार पारेका छन्।
हो तपाईं कहाँबाट पैसा ल्याउनुहुन्छ भनेर नेताहरूसँग सोध्ने हो भने जवाफ हुन्न। तर उनको जीवनशैली कुनै ठूला व्यापारीको भन्दा कम छैन त्यसैले यो प्रस्ट छ, उनीहरू पैसा लिइरहेका छन्, देश विरोधी वा विचौलीयाहरूसँग। त्यसैले आज देशभरका जनता राजनीतिक दलको होइन बिचौलियाको शासन चलेको छ भनेर नेतृत्वको आलोचना गरिरहेका छन्। यस्तोमा जेन जी पुस्ताको आन्दोलन आशाको झिल्को बनेर आएको छ।
दलहरू कांग्रस हुन् वा कम्युनिष्ट, प्रजातन्त्रवादी हुन् कि तानाशाही नाम मात्र फरक हुन् चरित्र उस्तै हो। सबै दलका नेता पैसामुखी भैसकेका छन्। चुनाव जितेका हुन् कि हारेका कसरी हुन्छ शक्तिको आडमा कमाउने धन्दामा छन्। देश लुट्न कसिएका छन्।
तसर्थ यी दलहरूसँग आशा गर्नु बेकार भएकोले अब दलका नाममा होइन विना दलका युवाहरूको आन्दोलन जरुरी भएको छ। दलमा लागेर तिनका शीर्ष नेताविरुद्ध धावा बोल्न संभव छैन भन्ने कुरा अहिले एमाले, कांग्रेस, माओवादीभित्र बोल्ने खोजेकाहरुको दयनीय अवस्था देखेरै प्रष्ट हुन्छ। त्यसैले समाज परिवर्तनको अपेक्षा राख्ने युवा सबैभन्दा पहिले आफू दलीय दासताको मानसिकताबाट मुक्त हुनुपर्छ।
देशको मुख्यशक्ति युवा विदेशिन बाध्य छ। प्रत्येक दिन विमानस्थलमा युवाको लर्को देखिन्छ। नेपालमा बसेर काम छैन, बसीहाले आफू बाँच्नका लागि विभिन्न दलका कार्यकर्ता बन्न तयार हुनुपर्छ। स्वतन्त्र भएर कुनै काम गर्नसक्ने अवस्था छैन। समाजको अति दलीयकरण भएको छ। त्यसैले अहिले गाउँमा कोही मर्दा लास बोक्ने मलामी युवा पाइँदैनन्, सब विदेशतिर लागि सके, अलिअलि पढेका र नपढेका सबै। अझ धेरै पढेका त झन् नफर्किने मनस्थितिका साथ। अहिले देशको अवस्था हेर्दा यस्तो पहिले गरिबहरू बसाइँ हिँड्थे, अहिले धनीहरू बसाइँ हिँड्दै छन्।
समाज परिवर्तनको अपेक्षा राख्ने युवा सबैभन्दा पहिला आफू दलिय दासताको मानसिकताबाट मुक्त हुनुपर्छ
नेताहरु विकासको मूल फुटाएको दावी गर्छन्। तर, धारा छ, पानी छैन। स्वास्थ्य संस्था छन्, चिकित्सक छैनन्। कर्मचारी छन्, काम गर्दैनन्। विद्यालय छन्, पाठ्यपुस्तक छैनन्। शिक्षक, प्राध्यापक छन्, पढाउँदैनन्। जसो तसो पढेर शिक्षा हासिल गरेका प्रमाणपत्र छन् तर रोजगारी छैन। कहाँ छ त मन बुझाउने ठाउँ युवाका लागि? यसले दिन प्रतिदिन युवामा निराशा बढ्दो छ। राजनीतिक दलमा भएका युवाहरू आफ्नो मनोकांक्षा पूरा गर्न नेताको चाकरीमा लिप्त छन्।
त्यसैले जेनजी पुस्तामा आफ्ना अग्रजहरू प्रति नै पनि वितृष्णा चुलिँदो छ। आफ्नो विवेकमा भर पर्नुभन्दा पार्टीको झोला भिरेका र नेताको चाकडीमा रमाएकाहरूले देश निर्माणमा कुनै योगदान गर्न सक्दैनन्। त्यसैले जेनजीको आशा टुट्दैछ। नयाँ पुस्तामा राजनीति प्रति पूरै वितृष्णा जागेको छ।
तर, देश बदल्न चाहने हो भने सक्षम युवापुस्ताले राजनीतिलाई सरापेर मात्र बस्नु हुँदैन। राजनीतिमा हस्तक्षेप गर्ने अदभ्य साहस लिएर वर्तमानलाई बदल्न लाग्नुपर्छ, जुन अहिले जेन जी पुस्ताको नाममा सुरुवात भएको छ। अब भाव र विचारले भरिपूर्ण सक्षम युवा जोस, जाँगर, आँट, साहस र धैर्यतासहित अगाडि आउने बेला भइसकेको छ।
स्वभाविक रुपमा जेनजी अनुभवको कमी भएको पुस्ता हो। यो पुस्तामा केही गरौं भन्ने हुटहुटी हुन्छ तर त्यसलाई कसरी अवसरमा बदल्ने भन्ने उपाय राज्यले खोज्नुपर्छ। तर, यहाँ त्यस्तो हुन सकेको छैन। युवामा असन्तोष मात्र होइन, जिम्मेवारी पनि हुनुपर्छ। म एक्लै सबैथोक गर्छु भनेर संसार जित्न खोज्ने प्रवृत्ति युवामा पनि छ।
तर त्यो सम्भव हुँदैन। त्यसले हामीलाई कहीँ पनि पुर्याउँदैन। कम्तीमा विशिष्टताका साथ आफ्नो काम गर्ने र बाँकी अरूसँग भर पर्ने बानी युवाले बसाल्नै पर्छ। नत्र सबै म गर्छु भन्ने अनि गर्न चाहिँ केही पनि नसक्ने अवस्था हुन्छ। त्यसैले अब थ्योरी अफ स्पेसलाइजेसनलाई युवाले अँगाल्नै पर्छ। अनि मात्र हुन्छ, मुलुक र युवाको प्रगति।
एकातिर जीवनको अन्तिम अवस्थामा पुगिसकेको एउटा वृद्ध व्यक्ति थप केही समय पाएँ भने के–के न गर्छु भन्ने आशामा एक मिनेट भए पनि बाँच्ने प्रयास गर्दै अस्पतालमा छट्पटाइरहेको हुन्छ। अर्कोतिर लक्का जवान व्यक्ति जीवनको अर्थ नभेटेर डोरीमा पासो लागेर लौका फलेजस्तो आत्महत्या गरिरहेको छ।
यो हाम्रो अहिलेको वास्तविकता हो। यस्तै अर्को वास्तविकता भनेको एकातिर टाउको दुखेर ऐया, ऐया भनिरहेको साथीलाई दुई सय रुपैयाँको औषधि किनेर नदिने तर रेस्टुराँमा बिरामी परिने गरी मादक पदार्थ खुवाउन तयार हुने युवाको संख्या पनि अधिक छ।
यस्तै, एक रुपैयाँ कर तिर्न नमान्ने तर २० रुपैयाँ टिप्स दिँदा पनि थोरै दिएजस्तो ठान्ने। अनि सामाजिक सञ्जालमा अनावश्यक कुराहरू हेर्न समय निकाल्ने तर देशका लागि के गर्ने भनेर तीन मिनेट पनि नसोच्ने प्रवृत्ति युवामा समेत छ। देशका ठुल्ठूला उद्योग बन्द भए भनेर सरकारलाई गाली गर्ने अनि आफैँले केही चलाएर नदेखाउने समस्या पनि छ।
फलानो फटाहा हो भनेर अरूको निन्दा गर्न जोस लगाउनुअघि असल काम गर्नेलाई हौसला प्रदान गर्न युवा हिच्किचाउनु हुँदैन। जेनजीले बुझ्नुपर्छ, सडकमा उभिएर आक्रोश पोख्नु मात्र होइन्, सरकारबाटै प्रताडित नागरिकमाझ हामी पनि साथमा छौं भन्ने भरोसा पैदा गर्नु महत्वपूर्ण हुनेछ।
(उर्जा उद्यमी दुलाल जलविद्युत तथा समसामयिक विषयमा कलम पनि चलाउछन् ।)
अध्यक्ष/सम्पादक
हेमन क्षेत्री
प्रबन्ध निर्देशक
गणेश के.सी.
९७४३२५१५४२
प्रमुख कार्यकारी अधिकृत
मेहर सिंह के.सी.
९८५७०६१४१६
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
संवाददाता
बिनोद थापा
डब्लु बम रावल (९८४९९१६७०८)
जनसम्पर्क अधिकृत
अस्मिता भुसाल (९७६७६३३८१५)
क्यामेरा पर्शन
शिशिर कार्की (9813901361)
व्यवस्थापक
आविष्कार खत्री
लुम्बिनी व्युरो
अनिल कुमार चौधरी (९८६७४४७१०६)
आइटी शाखा
रमेश ज्ञवाली
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
लुम्बिनी गणेश मिडिया प्रा.लि.
का.म.पा.–२९, मैतिदेबी, काठमाडौं ।
फोन : 984-3497533
ईमेल : thelumbini2080@gmail.com
सूचना विभाग द.प्र.प.नं. : ४९६६–०८१/०८२
दर्ता मिति : २०८१/१२/११
प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ४९७३–०८१/०८२
दर्ता मिति : २०८२/०२/०४
about-us
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij