Oct 08 2026 | २०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी अनिवार्य गराउन मन्त्री पौडेलको निर्देशन

काठमाडौं ।   देशभरका सबै संघीय अस्पतालमा सेवाको भुक्तानी डिजिटल प्रणालीमार्फत् हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अघि सारेको सुधार योजनाअनुसार, मन्त्रालयले बुधबार एक आधिकारिक परिपत्र जारी गर्दै सबै संघीय अस्पताल तथा प्रतिष्ठानलाई अनलाइन र क्यूआर  कोडमार्फत सेवा शुल्क असुल्न अनिवार्य निर्देशन दिएको हो।

मन्त्री पौडेलले अस्पतालमा देखिएको अनावश्यक भीड, लर्को र झन्झटपूर्ण कागजी प्रकृयालाई अन्त्य गर्दै नागरिकमैत्री र प्रविधिसमेतको प्रयोग हुने सेवा प्रणाली विकास गर्ने लक्ष्यसहित नौ बुँदे सुधार योजना अघि बढाएका हुन् ।

उनले नागरिकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले, अस्पतालको टिकट काट्ने प्रक्रियादेखि भुक्तानीसम्मको सम्पूर्ण प्रणालीलाई डिजिटल बनाउने स्पष्ट निर्देशन दिएका छन् ।

मन्त्री पौडेलको सचिवालयका अनुसार, सेवा प्रवाहमा पारदर्शिता र दक्षता ल्याउन डिजिटल पेमेन्ट प्राथमिक चरणमा लागू गरिनेछ। साथसाथै, गुणस्तर मापन तथा नियमन महाशाखाले निर्देशन कार्यान्वयन भएको नहुनुको कडाइका साथ अनुगमन गर्ने तयारी गरेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले संघीय अस्पतालहरूले डिजिटल भुक्तानी प्रणाली अपनाएको वा नअपनाएको विषयमा नियमित अनुगमन गरिने जानकारी दिए ।

उनले भने, “सार्वजनिक स्वास्थ्य सेवा सहज, पारदर्शी र प्रभावकारी बनाउने हाम्रो लक्ष्य हो। डिजिटल पेमेन्ट प्रणालीको प्रभावकारी कार्यान्वयन त्यसै दिशातर्फको महत्वपूर्ण कदम हो।”

स्वास्थ्य सेवा प्रवाहमा सुधारका लागि मन्त्री पौडेलको नेतृत्वमा अगाडि सारिएको यो पहलले अस्पताल प्रशासनदेखि आम नागरिकसम्म सेवाको गुणस्तर र पहुँचमा आमूल परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

 

 
 
 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार